
जुनवेला हामी राष्ट्रिय खेलाडी थियौं त्यतिवेला शरद चन्द्र शाहा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव मनोनित हुनु भएको थियो । २०३४ सालमा शदस्य सचिव नियुक्त हुनुभएका शाह बि.स २०४५ साल सम्म झण्डै ११ वर्ष सम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको पदमा रहनु भयो ।
२०३० को दशकसम्म समाज र राष्ट्रले कुनै महत्व नदिएको र प्राथमिकतामा नराखेको खेलकुदको क्षेत्रलाई राष्ट्रको प्रतिष्ठा विकासको महत्वपुर्ण क्षेत्रको रुपमा स्थापित गर्न शरद चन्द्र शाहाले गर्नु भएको प्रयास र पुर्याउनु भएको योगदान महत्वपुर्ण रहेको छ ।
राजनीतिमा संलग्न भएको, अनावश्यक चलखेल गरेको, पन्चायती ब्यवस्थाको पक्ष पोषण गरेको भनेर शाहाको आलोचना भएको भएतापनि उहांले खेलकुद क्षेत्रको विकासका लागि दिनु भएको योगदान भने सदा स्मरणीय रहने देखिन्छ ।
२०३० को दशकसम्म नेपाली खेलकुद क्षेत्रको अवस्था दिन हिननै रहेको थियो । राज्यले खेलकुदलाई महत्व दिएको अवस्था थिएन भने सरकारले दिने वजेट समेत निकै न्युन रहेको थियो । खेलकुदका पूर्वाधारहरुको अभाव थियो । प्रशिक्षकको संख्या निकै न्युन थियो । खेल सामाग्रीहरुको अभाव थियो । खेलाडीलाई प्रोत्साहान थिएन ।अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सहभागिता र उपस्थिति निकै कमजोर थियो ।
देशमा खेलकुद पूर्वाधारको विकास समग्र खेलकुद विकासको मेरुदण्ड भएको तथ्यलाई मध्य नजर गरि सो समयमा राष्ट्रिय खेलकुद परिषदले थुप्रै कार्यक्रमहरु ल्याएको थियो । यो क्रममा त्यतिवेलाका देशका पुर्वान्चल , मध्यमान्त्रचल, पश्चिमान्चल, मध्य पश्चिमान्चल र सुदुर पश्चिमान्त्रल क्षेत्रहरुमा बहुउद्धेश्य कर्भडहलहरु निर्माण भएर खेलकुद गतिविधिहरु सन्चालन हुन थालेका थिए । यसैगरि हुम्ला, जुम्ला, सोलुखुम्वु जस्ता विकट जिल्लाहरुमा निर्माण गरिएका भौतिक पुर्वाधारले खेलकुदको दायरा र स्तर विकासमा योगदान पुग्न पुगेको थियो र त्यस्को परिणाम पनि क्रमस देखिन थालेको थियो ।
त्यतिवेलाको राष्ट्रिय खेलकुद परिषदले खेलकुदको विकास र विस्तारको अर्काे महत्वपूर्ण पक्ष प्रशिक्षणको महत्वलाई बुझेर यो क्षेत्रको विकासका लागि आफनै दक्ष जनशक्ति तयार पार्ने र विदेशी प्रशिक्षहरुको समेत सेवा लिने प्रक्रियालाई अगाडी बढाएको थियो । यही प्रयासको क्रममा आफनै थुप्रै प्रशिक्षकहरु तयार भएका थिए । ती प्रशिक्षकहरुले देशभरमा सन्चालन गरेका प्रशिक्षण कार्यक्रमवाट खेलकुदको लोकप्रियता र दायरा फराकिलो भयो भने यस्तो प्रशिक्षण कालन्तरमा गएर खेलकुदको स्तर बृद्धिमा समेत महत्वपुर्ण आधार सावित हुन पुग्यो ।
प्रतियोगिता आयोजनाको विषय खेलकुदको विकास र विस्तारका लागि अर्काे महत्वपुर्ण पक्ष थियो । सिमित खेलका राष्ट्रिय प्रतियोगिता भईरहेको अवस्थामा विक्रम सम्वत २०३८ सालमा राष्ट्रिय खेलकुद परिषदले एउटै स्थानमा बहुसंख्यक खेलका राष्ट्रिय प्रतियोगिताको रुपमा प्रथम राष्ट्रिय खेलकुदको आयोजना काठमाण्डौमा गरेको थियो । स्व. श्री ५ वीरे्रन्द्रवाट समुदघाटन गरिएको यो आयोजना खेलकुद क्षेत्रको त्यतिवेला सम्मको सवैभन्दा ठुलो र सफल आयोजना थियो । १४ अन्चलका टीमले बहुसंख्यक खेलहरुमा ९ दिन सम्म गरेको स्वस्थ प्रतिस्प्रधा र यो खेलकुदको उदघाटनका अवसरमा आयोजना गरिएको समारोह लामै समय सम्म चर्चामा रहेको थियो । २०४० सालमा दोश्रो राष्ट्रिय खेलकुद पोखरामा र राष्ट्रिय खेलकुदको तेश्रो संस्करण २०४२ मा बीरगन्जमा उही भब्य रुपमा सम्पन्न भएको थियो । यी सवै राष्ट्रिय खेलकुदको उदघाटन स्व. श्री ५ बीरेन्द्रवाट भएको थियो ।
राष्ट्रिय खेलकुदको आयोजनावाट भौतिक पूर्वाधारको विकासमा पनि राम्रो योगदान पुग्न सक्यो । दोश्रो राष्ट्रिय खेलकुदका लागि पोखरा स्पोर्टस कम्मप्लेक्सको स्तरोन्नती भएको थियो भने राष्ट्रिय खेलकुद वीरगन्जमा आयोजना गर्नका लागि विलकुल नयां रंगशालनै निर्माण भएको थियो ।
राष्ट्रिय खेलकुद संगै २०३९ सालमा नगरहरुबीचको अन्तर नगर खेलकुद प्रतियोगिता पनि आयोजना शुरु भएको थियो ।
२०३९ मा हेटौडामा प्रथम अन्तर नगर खेलकुद आयोजनाका लागि मकवानपुरको गौरिटारमा जग्गाको व्यवस्था गरि अस्थायी रंगशालाको निर्माण भएको थियो । सो खेलस्थल अहिले खेल क्षेत्रको दरिलो सम््रपत्ति हुन पुगेको देखिएको छ ।
यो अवधिमा नेपालले अन्तराष्ट्रिय प्रतियोगिताहरुको सहभागिता मात्रै बढाएको थिएन नेपाली खेलाडीहरुले यस्ता प्रतियोगिताहरुमा सफलता प्राप्त गरेर देशको प्रतिष्ठा अभिबृद्धिमा समेत योगदान पुर्याएका थिए ।
दक्षिण एशियाली खेलकुद कहांँ आयोजना गर्ने भन्ने अन्यौलका वीचमा नेपालले यो खेलकुद आयोजनाको जिम्मेवारी लिएर २०४१ सालमा काठमाण्डौर्मा प्रथम दक्षिण एशियाली खेलकुदको सफल रुपमा आयोजना गरे देखिनै यो अभियान दक्षिण एशियाको महत्वपूर्ण खेलकुद आयोजनाको रुपमा स्थापित भएको हो ।
विस २०३० को मध्यतिर शुरु गरिएको नेपालीहरुको शारिरीक वनावट र भौगोलिक अवस्थालाई समेत सुहाउदो खेलको विकास गर्ने अभियान पनि प्रसस्त सफल रहयो । यही अभियानकै क्रममा नेपालले पहिलो पटक सन १९८६ मा सोलमा भएको १० औ एशियाली खेलकुदमा ते क्वान दोमा ४ र बक्सिडमा ४ वटा पदक जितेको थियो । अहिले सम्म पनि दक्षिण एशियाली खेलकुद, एशियाली खेलकुद र ओलम्पिक खेलकुदका साथै विश्व प्रतियोगितामा पदक जित्ने खेलहरुमा ते क्वान दो, कराते, बक्सिङ र भारत्तोलन जस्ता खेलहरु प्रमुख रहेका छन । शाहाकै कार्यकालमा सरकारले दक्षिण एशियाली खेलकुद , एशियाली खेलकुद, ओलम्पिक लगायतका अन्तराष्ट्रिय खेलकुद आयोजनाहरुमा पदक जित्नेहरुलाई निश्चित धन राशीले सम्मान गर्ने र पदक समेत प्रदान गर्ने प्रक्रियाको शुरुवात गरेको थियो ।
२०३० को दशकको मध्य सम्म पनि नेपाली सन्चार माध्ययमहरुमा खेलकुदले खासै स्थान पाउने गरेको थिएन् । एक त सन्चार माध्यमहरुनै अति सिमित थिए भने अर्काे तर्फ खेलकुदले समाजमा महत्व नपाएको परिप्रेक्षमा सन्चार माध्यमहरुमा उचित स्थान पाउने संभावनानै थिएन। २०३५ सालमा राष्ट्रिय खेलकुद परिषदले नेपालको खेलकुदलाई कसरी अगाडी बढाउने भनेर आयोजना गरेको खेलकुद गोष्ठिमा एक जना वरिष्ठ पत्रकारले सन्चार माध्यमका लागि दशरथ रंगशाला भन्दा वेलायतको फुटवल रंगशाला नजिक भएको प्रतिक्रिया दिएका थिए । खेलकुद पत्रकारहरुनै औलामा गणना गर्न सकिने मात्र थिए ।शरद चन्द्र शाहाले रेडियो नेपालवाट नियमित खेलकुद कार्यक्रम सन्चालन गर्न र पछि नेपाल टेलिभिजवाट पनि नियमित खेलकुद कार्यक्रम सन्चालन गर्न पहल गर्नु भएको थियो । यसैगरि राष्ट्रिय खेलकुद परिषदले पनि प्रचार प्रसार शाखाको स्थापना गरि विभिन्न प्रकाशनहरु सुरु गरेको थियो ।
शरद चन्द्र शाहा प्रत्यक्ष रुपमा खेलकुद क्षेत्रवाट अलग भएको ३ दशक बढी भएको छ । उंहा दिवंगत हुनुभएको पनि लामै समय भईसक्यो । शाहाको समयको नेपाली खेलकुद र अहिलेको खेलकुदमा ठुलो परिवर्तन भईसकेको छ । पछिल्लो दक्षिण एशियाली खेलकुदमा नेपालले प्राप्त गरेको ५१ श्वर्ण पदक यस्को चरम उत्कर्ष हो । अझै पनि यो क्षेत्रमा लगानीको जरुरत छ विकासको जरुरत छ , भौतिक पुर्वाधार विकासको आवश्यकता छ , खेलाडीहरुलाई दिईने सहुलियत बढाउन जरुरी छ तर विस २०३० र ४० को दशकको दाजोमा ब्यापक परिवर्तन भएको छ र त्यो स्वाभाविक पनि हो । । खेलकुदलाई आजको अवस्था सम्म पुर्याउन धेरै जनाको योगदान रहेको छ र यसरी योगदान गर्ने मध्य शरद चन्द्र शाहाको नाम अवश्य पनि अग्र स्थानमानै रहन गएको देखिन्छ ।
११ वर्ष सम्म खेलकुद क्षेत्रको सवैभन्दा महत्वपुर्ण सस्था राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव र नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष मात्रै होईन विश्व ते क्वान दो महासंघका उपाध्यक्ष र ओलम्पिक काउन्सिल अफ एशियाका उपाध्यक्षको पदमा समेत पुग्न शरद चन्द्र शाहा सफल हुनुभएको थियो । शरद चन्द्र शाहाले नेपालको समग्र खेलकुद क्षेत्रको विस्तार र विकासमा सफल योगदान गर्नु भएको हो । यस्मा ततकालीन राजपरिवार, खेलाडी, खेलकुदप्रेमी ततकालीन १४ अन्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, प्रशिक्षक व्यवस्थापक र शाहाको टीमका सदस्यहरु र खेलप्रेमीहरुको पनि यथेष्ट योगदान रहेको थियो ।